प्यारामाउन्ट बोर्डिङ स्कुलकी छात्रा मृत्यु प्रकरणमा दुई बुँदै सहमति

प्रकाशित मिति:

बुटवल , तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलकी छात्रा प्रतिमा सापकोटा मृत्यु प्रकरणमा दुई बुँदै सहमति जुटेको छ ।

शनिबार साँझ अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच सहमति भएको हो । सहमति भए अनुसार स्वर्गीय छात्रा सापकोटाको नाममा उनको जन्मस्थल गुल्मीको झुर्मास्थित एक आधारभूत विद्यालयमा ९ लाख ९९ हजार ९ सय १९ रुपैयाँको अक्षयकोष स्थापना गर्ने र विद्यालय प्रांगणभित्र उनको शालिक स्थापना गर्ने सहमति भएको हो । मृतक छात्राका अभिभावक जापानमा बस्दै आएको र उनीहरु आएपछि मात्र शव व्यवस्थापन गर्ने सहमति भएअनुसार शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको आफन्त भाष्कर भण्डारीले बताए ।

शनिबार बिहान बिरामी भएको भन्दै खबर पाएपछि आफन्तले उनलाई नजिकैको क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । उनको स्वाब संकलन भएको र रिपोर्ट आउन बाँकी रहेको छ ।