१४ गतेदेखि रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने

प्रकाशित मिति:

बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो । यो नियम मोटरसाइकलदेखि सार्वजनिक सवारी साधन, मालवाहक ढुवानीका साधन र निजी प्रयोजनका चार पांग्रे गाडीमा समेत लागू हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका जिल्ला प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।

एम्बुलेन्स र शब वाहन तथा औषधि, दूध बोक्ने तथा सरकारी कर्मचारी, प्रेसका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू नहुने थापाले बताए । यस्तै वैठकले वैशाख मसान्तसम्म रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द गर्ने र परीक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो ।

बैठकले जिल्लाभित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको प्रशासकीय अधिकृत थापाले बताए । वैठकमा सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ–आफ्नो पालिकामा रहेको सामुदायिक आइसोलेसन र होम आइसोलेसनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको छ ।