कोरोनाबाट भारतमा एक सातामै २० नेपालीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, वैशाख १२ ; कोरोना भाइरसको संक्रमणबाट एक सातामा भारतमा रहेका २० नेपाली नागरिकको ज्यान गएको छ।गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गत एक सातामा विदेशमा रहेका २३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये २० जनाको भारतमा ज्यान गएको समितिका संयोजक डा। सञ्जीव सापकोटाले बताए।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा। सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा मात्रै १० नेपालीको मृत्यु भएको हो। त्यस्तै भारतका अन्य राज्यमा थप १० नेपालीले ज्यान गुमाएका छन्। भारतमा कोरोनाबाट मृत्यु हुने नेपालीहरु अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन्।त्यस्तै, गत एक सातामा कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाबाट ज्यान गएको छ। योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय ७२ पुगेको छ। कोरोनाबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी मध्य पूर्वका देशमा दुई सय ४५ जना रहेका छन्।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार पाँच सय ६ पुगेको छ। कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन्। यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। नेपालमा हालसम्म तीन लाख संक्रमति नाघेका छन्।