बजेटलाई रकमान्तर गरेर कोराना नियन्त्रणमा खर्च गरौं ; सांसद मोहनप्रसाद पाण्डेय

प्रकाशित मिति:

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेयले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसद पाण्डेले सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको बताए ।

उनले राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्दै प्रश्न गरे ।

पाण्डेले अर्थ मन्त्रालयले अर्बौं रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको पनि बताए । सांसद पाण्डेले कोभिड विरुद्धको खोप आफै सुरक्षित नभएको र देश नै आक्रान्त भएको अवस्थामा बजेट रकमान्तर गरेर भएपनि विरामीको उपचारमा ध्यान दिन सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए ।