तीन व्यक्तिको पञ्जामा विश्व तेल बजार

प्रकाशित मिति:

एजेन्सी मङ्सिर ४/ पछिल्लो समय विश्वको तेल बजारबारे विभिन्न किसिमको आशंका देखिएको छ । पछिल्लो समय मोहम्मद बिन सलमान, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको वरिपरी घुमेको देखिन्छ । तेलको बजारमा रुस, साउदी अरेबिया र अमेरिकाजस्ता मुलुकहरु तेल बजारमा महत्वपूर्ण भूमिका खेल्ने गरेका मुलुकहरु हुन् ।

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकहरुको संगठन ओपेकले अहिले तेल बजारबाट आफ्नो नियन्त्रण बिस्तारै गुमाउँदै गरेको देखिन्छ । विशेषगरी समग्र तेलको बजारमा केवल तीन जनाको नाममा घुमेको देखिन्छ । यसले सन् २०१९ मा विश्व बजारमा तेलको मूल्य यी तीनै मानिसहरुका कदममा निर्भर रहने स्पष्ट छ । उक्त मुलुकहरुले ओपेकले समग्रमा उत्पादन गर्ने तेलभन्दा बढी तेल उत्पादन गर्ने गर्छन् । उक्त मुलुकहरुमा २ मुलुकहरु आगामी दिनमा आफ्नो तेलको उत्पादन बढाउने तयारीमा छन् ।

गएको जुन महिनाबाट रुस र साउदीले आफ्नो तेल उत्पादन बढाउने निर्णय गरेका थिए । सन् २०१७ को सुरुदेखि उक्त मुलुकहरुले तेल उत्पादनमा कटौती गर्दै आएका थिए । अहिले इरानमाथिको अमेरिकी प्रतिबन्ध जारी रहेको छ । यस्तोमा केही मुलुकहरु इरानलाई राहत पुग्ने किसिमको योजना ल्याउने तयारीमा रहेका छन् ।

यस्तोमा तेलको बजार कुन दिशातर्फ जान्न भन्नेबारे अन्योल देखिन्छ । उर्जाको क्षेत्रमा काम गरिरहेको ओईसीडी कम्पनीले तेलको भण्डारण पुनः बढ्दै गएको बताएको छ । सन् २०१७ मा तेल उत्पादनमा गरिएको कटौतीसँगै घटेको भए पनि अहिले भने तेल भण्डारण बढ्दो क्रममा रहेको देखिन्छ । यसको अर्थ पछिल्लो समय व्यापक मात्रामा तेलको उत्पादनमा वृद्धि भइरहेको छ ।

साउदी अरेबियाले आगामी महिनादेखि आफ्नो तेल उत्पादनमा ५ लाख ब्यारेलले कटौती तयारी गरेको छ । यसमा रुसले भने राम्रो प्रतिक्रिया दिएको छ भने ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा साउदीको यो तयारीको विरोध गर्दै आएका हुन् । साउदी राजकुमार बिन सलमान तेलको राजस्वले मुलुुकलाई नयाँ संरचनामा बदल्ने योजनामा रहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले साउदीलाई आगामी वर्ष बजेट सन्तुलनमा राख्नका लागि तेलको मूल्य प्रतिब्यारेल ७३ दशमलव ३ डलरमा रहनुपर्ने बताएको छ । अहिले ब्रेन्ट क्रुडको मूल्य त्यसभन्दा ५ डलर बढी रहेको छ । उत्पादन कटौती गर्दै तेलको मूल्य बढाउने ध्याउन्नमा साउदी रहेको छ ।

साउदीले भने रुस र अमेरिकाबाट पनि उल्लेख्य चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । रुसी राष्ट्रपति तेलको उत्पादन घटाउने पक्षमा देखिँदैनन् भने अमेरिकी राष्ट्रपति ट्रम्प बढाउने पक्षमा छन् । रुस तेलको मूल्य प्रतिब्यारेल ७० डलरमा हुनु राम्रो रहेको बताउँदै आएका छन् ।

साउदी अरेबियाको लागि पछिल्लो समय पत्रकार जमाल खाशोग्गीको विषयले पनि अन्तर्राष्ट्रिय दबाब रहेको अवस्थामा तेलको राजनीतिमा आफ्नो अडान कायम राख्न केही कठिन हुनसक्ने बताइएको छ ।