बाँकेमा दुई दिनमै दुई सय बढी कोभिड-१९ संक्रमणमुक्‍त

प्रकाशित मिति:

बुटवल ; बैशाख महिनाको सुरुवातबाटै कोभिड-१९ हटस्पट बनेको बाँकेमा संक्रमितहरू निको हुने क्रम पनि बढेको छ । संक्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो संख्यामा संक्रमितले कोभिड-१९ संक्रमणमुक्‍त भएका हुन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मंगलबार १०६ जना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन् । ओलीकाअनुसार ५० महिला र ५६ पुरुष संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका हुन । यसअघि सोमबार १ सय २५ जना संक्रमणमुक्त भएका थिए ।

बाँकेमा संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका थिए । तर, दुई दिनमा दुईसय ३१ जनालाई संक्रमणमुक्त बनाइ घर पठाउन पाउँदा निकै खुसी लागेको ओलीले बताए । उनले यस्ता सकारात्मक समाचारको प्रचार गरिदिन अग्रह पनि गरे । सोमबार मात्रै पनि एकैदिन सात वर्षीया बालिकादेखि ७३ वर्षीया वृद्धासमेत गरेर १२५ जना सङ्क्रमणमुक्त हुँदै डिस्चार्ज भएर आ आफ्नो घर फर्किएका थिए ।