प्यारामाउन्टले भन्यो ; छात्रा मृत्युमा विद्यालय दोषी छैन

प्रकाशित मिति:

बुटवल, १५ बैसाख । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कूलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दावी गरेको छ । उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दावी गर्दै विद्यालयले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारवाही गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ ।

कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभा सापकोटाको बैशाख ११ गते भएको मृत्यु र त्यसपछि भएका घटनाबारे बुधबार पत्रकार सम्मेलन गरी विद्यालयले घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न र मृतकका परिवारलाई न्याय दिलाउन माग गरेको छ । बैशाख १० गते शुक्रबारसम्म प्रतिभाको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र साँझ ७ बजेतिर होस्टेल अगाडि चौरमा छात्राहरुको समूहमा नाचगानमा उनी सक्रियतापूर्वक सहभागी भएको विद्यालयले जनाएको छ । यस्तै बैशाख ११ गते बिहान सापकोटाले आफ्नो स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी भएपछि दाजु प्रकाश सापकोटालाई बोलाइएको र बिहान ८ बजेतिर प्रतिभालाई होस्टेलबाट लिएर गएको विद्यालयले जनाएको छ । होस्टेलबाट लगेपछि पांच घण्टासम्म प्रतिभालाई अस्पताल नलगी आफन्तकोमा राखिएको,प्रतिभाको अवस्थाका बारेमा विद्यालयलाई कुनै जानकारी नगराएको र दिउँसो २ः१५ बजे अचानक प्रतिभाका अभिभावकसहितको समूहले विद्यालयभित्र प्रवेश गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, निमित्त प्रिन्सिपल लगायतमाथि भौतिक आक्रमण र बसका शिशा तोडफोड गरिएको विद्यालय प्रशासनले बताएको छ । विद्यार्थीको मृत्युको संवेदनशील अवस्थामा गलत आरोप लगाई विद्यालयमाथि आक्रमण र विद्यालयका अध्यक्ष लगायतलाई करकापमा पारी अनुचित सम्झौता गरिएको र अर्को दिन पुनः भौतिक आक्रमण भएकोले घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न विद्यालयका उपाध्यक्ष राम गिरीले प्रशासनसंग माग गरे ।

छात्राको मृत्युपछि जिद्यालयमा शालिक बनाएर राख्ने र १० लाखको अक्षयकोष स्थापना गर्ने विषयमा विद्यालय सहमत भएपनि पछि अक्षयकोष गुल्मीमा स्थापना गर्नुपर्ने अडान मृतकका आफन्तले गरेपछि सहमति भांडिएको विद्यालयले स्पष्ट पारेको छ । ‘प्रतिभाको मृत्युमा विद्यालयको कुनै दोष छैन,निराधार आरोप लगाएर बद्नाम गरियो’–पत्रकार सम्मेलनमा बौल्दै उपाध्यक्ष गिरीले भने–‘तिलोत्तमा नगरपालिकाले समेत छानवीन समिति बनाएको छ, त्यसले पनि सत्यतथ्य ल्याउने नै छ ।’ प्रतिभासँग होस्टेलमा बस्ने र अध्ययन गर्ने ४३ जना विद्यार्थीको कोरोना परीक्षण गर्दा कसैमा पनि पोजेटिभ नदेखिएको विद्यालयका कार्यवाहक प्रिन्सिपल एलडी किंरातले बताए । पत्रकार सम्मेलनमा विद्यालयका निवर्तमान अध्यक्ष सुरेन्द्रकुमार वर्मा,सञ्चालक अर्जुन ज्ञवाली, कानूनी सल्लाहकार भरत भूसालले सम्बन्धित पक्षसंग तथ्य नबुझी समाचार सम्प्रेषण हुंदा विद्यालयको प्रतिष्ठामा आंच आउने भएकाले संवेदनशील बनिदिन आग्रह गरेका थिए ।