महोत्सव सफल पार्न बिशिष्ट व्यक्तिहरुद्धारा साथ दिने प्रतिबद्धता

प्रकाशित मिति:

यही मंसिर ६ गतेदेखि १८ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना हुन लागेको तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवलाई सफल पार्न विभिन्न बिशिष्ट व्यक्तिहरुले साथ दिने प्रतिबद्धता जनाएका छन् । महोत्सव आयोजक समितिले मंगलबार मेला सचिवालयमा आयोजना गरेको विशिष्ट सल्लाहकारहरुसंग सल्लाह सुझाव संकलन कार्यक्रममा बोल्दै सम्पुर्ण अतिथिहरुले विभिन्न सल्लाह सुझावहरुको साथमा महोत्सव सफल पार्न आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकलाइ सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले महोत्सवहरुमा साना किसान र साना व्यापारीहरुका माल सामानहरुका स्टलहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विदेशी वस्तुहरुको प्रदर्शनले महोत्सवमा आर्थिक कारोवार भएतापनि त्यसले आर्थिक समृद्धि नहुने भन्दै महोत्सवहरुमा लगाइने चर्खे पिङहरुमा पनि यहाँका स्थानीय उद्योगी व्यवसायीहरुले लगानी गर्नको लागि आग्रह गरे । महोत्सवहरु आयोजना गर्दा मुलुकको आर्थिक घाटालाई समेत मध्येनजर गर्न आग्रह गर्दै मन्त्री गिरीले महोत्सव सफल पार्न प्रदेश सरकारले आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रदेश पाँचका अर्थ, उद्योग र पर्यटन संसदीय समितिका सभापति दधिराम न्यौपाने माधब शर्मा ले देश विकासमा फुटेर हैन जुटेर सम्भव छ भन्ने सरकारको नारालाई यहाँका नीजी संस्थाहरुले साथ दिँदै स्थानीय तीन वटा संस्थाले मिलेर आयोजना गरेको महोत्सवले नयाँ सन्देश फैलाएको बताए । सरकारले अर्को विकल्प तयार नगर्दा सम्म यस्तै खालका महोत्सवहरुले नै स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणमा सहयोग गरेको भन्दै महोत्सव सफल पार्न आफुले जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विकले पछिल्लो समय सबैले कृषि र पर्यटनलाइ प्राथमिकतामा राखेर भाषण गर्ने गरेपनि व्यवहारमा लागु गर्न नसक्दा ति क्षेत्रहरु ओझेलमा परेको बताउँदै वेला–वेलामा आयोजना हुने मेला महोत्सवले ति क्षेत्रको प्रबद्र्धनमा यहयोग गरेको बताए ।
कार्यक्रममा हालसम्मको तयारीबारे बोल्दै मेला आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारले नीजी क्षेत्रलाई प्राथमिकतामा नपारेको गुनासो गरे । उनले अन्य मुलुकमा सरकारले आफै महोत्सव आयोजना गरी नीजी क्षेत्रलाइ आफ्ना उत्पादनको बजारीकरण गर्ने अवसर प्रदान गर्ने गरेको स्मरण गराउँदै नेपालमा नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवमा सरकारले खासै चासो नदेखाएको गुनासो गरे । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेद प्रकाश उपाध्याय, शसस्त्र प्रहरी नायव उपरीक्षक दल बहादुर पाण्डे लगायतले बोल्दै नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवहरुलाई सरकारी निकायबाट सक्दो सहयोग गर्नसके नीजी क्षेत्र उत्साहित हुने कुरामा जोड दिए ।
मेला मुल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संगठन रुपन्देही, तिलोत्तमा शाखाका अध्यक्ष सत्यब्रत ज्ञवालीको अध्यक्षता तथा सह आयोजक तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन मेला सचिवालय संयोजक अनिलकुमार ज्ञवालीले गरेका थिए ।