आईसीयूबाटै बेपत्ता भनिएका सांसद शाहीको विज्ञप्ति-पार्टी निर्णयमा प्रतिबद्ध छु

प्रकाशित मिति:

पोखरा, वैशाख १६ ; बुधबार एकाएक बेपत्ता भएका राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीले आफू पार्टीको निर्णयमा प्रतिबद्ध रहेको बताएका छन्।

अस्पतालबाटै बिहीबार विज्ञप्ति जारी गर्दै शाहीले आफू उपचारमै रहेको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका छन्। ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरू प्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ,’ शाहीले भनेका छन्।

‘१५ वैशाख ०७८ मा सदनको कार्यसूचीबमोजिम मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुने थियो। तर, म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ शाहीले विज्ञप्तिमा भनेका छन्, ‘म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छु। म थप स्वस्थ भएपछि मेरोबारेमा उठेका कैयन प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।