कोरोना महामारी विरुद्ध सबै नेपाली एकताबद्ध हुन आग्रह

प्रकाशित मिति:

बुटवल, १८ बैशाख । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंले  प्रेस विज्ञप्ति जारी गर्दै मुलुक कोभिड–१९ को दोस्रो चरणको प्रकोपबाट आक्रान्त भइरहेको सन्दर्भममा नेपाल र नेपालीको मुख्य शत्रु भनेको कोरोना महामारी भएकाले यसलाई पराजित गर्न सक्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनु भएको छ । विज्ञप्तीमा यतिबेला मुलुकको समग्र राज्य शक्ति, तीनै तहका सरकार र यस मातहतका विभिन्न निकाय, सरकारी एवं गैरसरकारी संघ–संस्था, व्यवसायिक संगठनहरु, नागरिक समाजका विभिन्न अङ्गहरु एकसाथ कोरोना विरुद्धको अभियानमा एकताबद्ध भई परिचालित हुनु आवश्यक रहेको बताउनु भएको छ ।
विज्ञप्तीमा डा. चापागाईंले यस्तो प्रकारको गहन जिम्मेवारीलाई ध्यान नदिई सत्ता स्वार्थको खेलमा अल्झिन पुग्दा कोरोना महामारीको प्रकोप झनै भयावह हुन सक्ने भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित सरोकारवाला सबै पक्ष एकजुट भई सामना गर्न आग्रह गर्नुभएको छ ।त्यस्तै गरी उहाँले नागरिकको जीवन सुरक्षित रहे मात्र राजनीतिले सार्थकता पाउने बताउदै मुलुकको प्रमुख समस्यातर्फ ध्यान नदिई सत्ता स्वार्थको खेलमा लिप्त हुँदा कोरोना महामारीको संकट नियन्त्रण भन्दा बाहिर जान सक्ने भएकाले सबै नेपाली समयमै सजग हुनु जरुरी भएको बताउनु भएको छ ।विज्ञप्तीमा उहाँले नेपाली सञ्चार जगतले पनि द्वन्द्व चर्काउने खालका सूचनालाई निषेध गर्दै नेपाली जनताको स्वास्थ्य र सुरक्षामा सबैको ध्यानाकृष्ट हुनेगरी सही सूचना, समाचार र विचार सम्प्रेषण गर्न हार्दिक अपिल गर्नु भएको छ ।