लेखा समितिमा वाइडबडी बहस , काँग्रेस भन्छ ‘अनियमितता भयो छानबिन होस्’

प्रकाशित मिति:

मंसीर, ५ काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीदमा अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन गर्न माग गरेको छ ।

निगमले वाइडबडी विमान खरीदमा ठूलो आर्थिक अनियमितता गरेको दाबी गर्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले छानबिन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका हुन् । मंगलबार बसेको समितिको बैठकमा उनले ५०औं वर्षसम्म देशलाई आर्थिक भार पर्ने गरी विमान खरिदमा अनियमितता भएको सबै सञ्चार माध्यमले उल्लेख गरेको अवगत गराउँदै त्यसलाई छानबिनको दायरामा ल्याउन आफ्नो पार्टीले जोडदार माग गरेको पनि समितिलाई जानकारी गराए ।

यसैबीच, सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिका सभापति भरतकुमार शाहले त्यो विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई आउँदो आइतबार समितिमा बोलाउने निर्णय गरिएको जानकारी दिए ।

समितिको आजको बैठकमा कांग्रेस सांसद रिजालले त्यस सम्बन्धमा छलफल गर्न जोडदार माग गरेपछि समितिले मन्त्री अधिकारीलाई छलफलका लागि आइतबार समितिको बैठकमा बोलाएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र निगम पदाधिकारीलाई पनि बोलाउने समितिले जनाएको छ ।
निगमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुई वटा वाईडबडी विमान खरिद गरेको छ ।