माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

प्रकाशित मिति:

वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।