सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना

प्रकाशित मिति:

सोलुखुम्बु, वैशाख २४ : सगरमाथा आधारशिविरबाट फर्केका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले बताइन्। उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रण पुष्टि भएको थियो।

यस्तै बुधबार दुई तथा बिहीबार र आज चार÷चार जनामा सङ्क्रमण पुष्टि भएको उनले बताइन्।कोरोना संक्रमण देखिएका दुईमा श्वासप्रश्वासमा समस्या देखिएको छ। उनीहरुलाई गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको उनले बताए। अन्य संक्रमितलाई होम आइसोलेसनमै राखिएको छ।जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ। खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक÷एक नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले बताइन्।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौं र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए।त्यस्तै, लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहित अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ। रासस