मुख्यमन्त्रीको कथनी र करनी मिलेन, “अस्पतालमा अक्सिजन अभाव कायमै”

प्रकाशित मिति:

बुटवल- बिहीबार लुम्बिनी प्रदेशका बढी कोरोना संक्रमण भएका बुटवल र नेपालगञ्ज क्षेत्रमा अक्सिजन अभाव भएका खबर प्राथमिकताका साथ आए ।

सामाजिक संजालमा आफूलाई खुबै व्यस्त राख्ने र स्टाटस मार्फत धारणा सार्वजनिक गर्ने प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कम प्रभाव भएका र बिरामी नै नभएका अस्पतालमा अक्सिजन थुप्रिएको भन्दै अभावको कारण खोट्याउँदै याचना गरे।

बिहीबार दिनभर यसको व्यवस्थापनमा व्यस्त राखेको संकेत गरेका मुख्यमन्त्री पोखरेलले साँझ लेखे, ‘ निरन्तरको प्रयास पछि भारतबाट लिक्विड ग्याँस आउने भयो, सिलिन्डर प्राप्त हुँदैछ , स्थिति सहज हुनेछ ।’

कहाँबाट हुन्थ्यो भनेजस्तो सहज स्थिति उस्तै रह्यो । भैरहवा स्थित भीम अस्पतालले शुक्रबार सूचनानै जारी गर्यो । ‘ बिरामीको अत्यधिक चापको कारण अक्सिजन व्यवस्थापन गर्न सक्दैनौं , सोही अनुसार गर्नु ।’

यही अवस्था सूचना बाहिर नल्याएको मात्र हो, कोभिड उपचार गर्ने सबै अस्पतालको अवस्था उस्तै थियो तर शुक्रबार मुख्यमन्त्रीले लेख्न भ्याए, ‘लुम्बिनी प्रदेशका सबै प्लान्टबाट अक्सिजन उत्पादन सुरु हुँदैछ,दाङको प्लान्टले उत्पादन सुरु गर्यो,भारतबाट आउन लाग्यो थप सिलिन्डरको पनि व्यवस्था भयो । अक्सिजनको कारणले सेवा सिमित गरेका अस्पतालले क्षमता बढाएर उपचार गरौं ।’