भीम अस्पतालको एक पछी अर्को विज्ञप्ति : अस्पतालमा अक्सिजन अभाव छैन

प्रकाशित मिति:

भैरहवा । कोरोना संक्रमितलाई ‘अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं जोहो गर्नू’ भनेपछि आलोचित बनेको भैरहवाको भीम अस्पतालले फेरि अर्को विज्ञप्ति जारी गरेर अस्पतालमा अक्सिजन अभाव नरहेको जनाएको छ । शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो । उक्त विज्ञप्ति प्रकाशित गर्नु अस्पतालको गैरजिम्मेवारीको पराकाष्ठा भन्दै चौतर्फी आलोचना भएपछि अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ताले शुक्रबार राति नै अर्को विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव नभएको जनाएकी हुन् ।

डा। गुप्ताले अस्पताल प्रशासनलाई जानकारी नदिई शुक्रबार दिउँसो प्रकाशित सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञप्तिमा कुनै सत्यता नरहेको उल्लेख गरेकी छन् । ‘अस्पतालमा अक्सिजन ग्यासको अभाव नरहेको सम्बन्धमा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । मेसु गुप्ताले आफूलाई नसोधी निकालिएको विज्ञप्ति गम्भीर त्रुटी भएको र यसले अस्पतालको बद्नाम गराएकाले यसबारे सम्बन्धित कर्मचारीलाई राखेर छानबिन गरी दोषीलाई कारवाही गर्ने बताइन् । कोरोना संक्रमितको संख्या अत्यधीक बढेकाले अक्सिजन अभावको समस्या भीम अस्पतालमा मात्र नभई सबै अस्पतालको भएको मेसु गुप्ताले बताइन् । अस्पताल आएका संक्रमितले उपचार पाउन् भन्ने उद्देश्यले २५ बेड एचडीयू र ५ बेड आईसीयू भएपनि अन्तरंग विभाग र भुईमा म्याट्रेस राखेर अस्पतालले ७० जना भर्ना गरेर उपचार सेवा दिइरहेको गुप्ताले बताइन् । उनले अस्पतालमा दैनिक २ सय बढी सिलिण्डर अक्सिजन खपत भइरहेको र यो मात्रा अझै बढ्ने बताइन् ।

माग अनुसार अक्सिजनको नियमित आपूर्तिको सुनिश्चितता नभए पनि विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा भर्ना भएका विरामीलाई अक्सिजन अभाव हुन नदिइएको उनले बताइन् । अस्पतालको माथिल्लो तलामा अक्सिजन पाइपलाइन विस्तार र लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि सम्बन्धित मन्त्रालयमा कुरा भइरहेको र तयो भएमा थप ३५ जना समेत गरी कूल सय जना कोरोना संक्रमितलाई उपचार दिन सकिने डा। गुप्ताले बताइन् । अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले भने मेसुसहित सम्बन्धित चिकित्सकसँग छलफल र सल्लाह गरेर नै अक्सिजन पु¥याउन नसकिने विज्ञप्ति जारी गरेको बताए ।