मेयर र उपमेयरको तमासा सरकारी बजेट बाट घरको डाइनिङ टेबल खरिद !

प्रकाशित मिति:

मङ्सिर ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जनप्रतिनिधिलाई सबारीसाधन खरिदमा चरम दुरुपयोग भएको पाइएको छ । विकासका काम गर्नुको सट्टा नगरपालिका प्रतिनिधिहरु सवारी दुरुपयोगमा लागेपछि चर्को विरोध भइरहेको छ ।

उक्त नगरपालिकामा मेयर र उपमेयरलाई गाडी तथा वडाध्यक्षहरुलाई मोटरसाइकल (१२ वटा) खरिद गरिएको छ । आफूले नचलाए पनि नातागोताका लागि ती सवारी साधन प्रयोग गर्न दिइएको पाइएको छ । वडा नम्बर ७ का वडाध्यक्षले मोटरसाइकल आफ्नो छोरालाई चलाउन दिएका छन् । सोही मोटरसाइकलले एक जना सर्वसाधारणलाई ठक्कर दिएर फरार भएको थियो ।

त्यसैगरी उपमेयरले सरकारी बजेट बाट घरको डाइनिङ टेबल खरिद गरेको खुलासा भएको छ । स्रोतका अनुसार फर्जी बिल मिलाएर जिन्सी शाखाबाट लाखौं रुपैयाँ घोटाला भइसकेको छ । खाने अनेक बहाना अन्तर्गत मेयरको गाडी पनि परेको छ । मेयरको गाडीले तीन महिनामा १७ सय लिटर तेल खाइसकेको छ । जिन्सी शाखामा ८५ रुपैयाँको पाइलट पेनलाई १२५ को फर्जी बिल बनाई घोटाला गरिएको छ । अन्य वस्तुहरुमा पनि फर्जी बिलको चाङ रहेको बताइएको छ ।

सबइन्जिनियर नारायण पोख्रेलले मापदण्ड बिपरित घरको नक्सा पास गरेर घुस खाएको गुनासो बढेको छ । २०७४–७५ को योजना वार्ड न ६ को घुम्ती भुबनडाँडा फूदबांग मोटर बाटो तीन लाखको काम हुँदा पनि फर्जी बिल बनाएर पाँच लाखको देखाएको खुलेको छ ।

कर्मचारी भर्ना आवश्यकभन्दा धेरै भएको र जनप्रतिनिधि ले आफ्नो नातापातालाई राखेको खुलेको छ । कतिपयको शैक्षिक योग्यतासमेत नपुगेको खुलेको छ ।