शुरु भयो चिच्याएर वर माग्ने सत्यवती मेला

प्रकाशित मिति:

मुलुकमै कही नभएको र स्वःस्फूर्त लाग्ने चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती तालमा लाग्ने तीन दिने मेला हिजोदेखि सुरु भएको छ । तीन दिनसम्म लाग्ने मेलामा हज्जारौको सहभागिता रहने गर्छ । मेला भर्न मुलुक र छिमेकीभारतबाटसमेत दर्शनार्थीको घुंइचो लाग्ने गर्छ । कात्तिके पूर्णिमाको तीन दिनअघि देखि नै पाल्पाको तिनाउ गाउपालिका ४ को बीच घनाजंगलस्थित रहेको सत्यवती तालमा मेला लाग्ने पूरानो चलन छ । सिद्धार्थ राजमार्ग अन्तर्गत मस्यामको २४ माईल र दोभानकोे झुम्सा पानीमिलबाट दुई घण्टा ठाडो उकालो हिडेर सत्यवती तालमा लागेको मेला हेर्न जाने गर्छन् । चिच्चाएर वर माग्ने र मागेको वर पूरा भएको जनविश्वासका आधारमा मेला भर्न मुलुकका विभिन्न भागका साथै भारतबाटसमेत दर्शनार्थीको भीड लागेको छ । तीन दिन तीन रात मानिसको घुइंचो लाग्छ । मनोकांक्षा पुग्ने विश्वासले सत्यवती तालमा वर माग्ने र भाकल अनुसार पूजा दिने चलन छ ।