प्रचण्डको सचिवालयको स्पष्टोक्ती : प्रचण्ड माथि कुनै द्रुव्यवहार भएको छैन

प्रकाशित मिति:

काठमाण्डौ मंसिर ७ / नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उनको सचिवालयले जनाएको छ। केही संचार माध्यमहरुले उनी माथि द्रुव्यवहार भएको खबर बाहिर ल्याएका थिए ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बुधबार र बिहीबार प्रचण्डको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना नभएको बताए।

बिहीबार बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको उनले बताए।

यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित तवरले प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पनि प्रचण्डको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ।