कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गते

प्रकाशित मिति:

  मङ्सिर ७ काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए ।

“महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ”, उनले भने । महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो ।

बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।