पछिल्लाे २४ घण्टामा तिर्थालु सवार तीन बस दुर्घटना : २२ जनाको मृत्यु, ८५ घाइते

प्रकाशित मिति:

मंसिर ७, २०७५ काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । डडेलधुरा, दार्चुला र सिरहामा भएको बस दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा ८५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

डडेलधुरा
डडेलधुरामा बिहीबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १३ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको हो । मृतक मध्ये सात जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया  गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल र ४० वर्षीय योगेन्द्र रावलको मृत्यु भएको हो । यसैगरी, डडेलधुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका– १० बस्ने रोहित बलायर र ठेगाना नखुलेकी माया रावलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से८१८क २९३ नम्बरको बस बिहीबार साझँ रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा २७ जना घाइते छन् । घाइते मध्ये उपक्षेत्रीय अस्पताल डडेलधुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई अन्यत्र रेफर गरिएको छ ।

सिरहा
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु रहेका छन् ।

मिर्चैया इलाका प्रहरी कार्यालयका अनुसार उनीहरुको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो ।

सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नंको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दार्चुला 
मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य १८ जना घाइते भएका छन् ।

गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको हो । घटनामा सात जना गम्भीर घाइते भएका छन् ।

उद्धार गरिएका घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट ३०० मिटर तल खसेको थियो ।