पार्टी एकता नगर्ने भनेको राप्रपाले अन्ततः निकाल्यो यस्तो विज्ञप्ति

प्रकाशित मिति:

काठमाडौं ७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकताको ढोका सधैं खुला रहने बताएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट अलग भएका र विचार मिल्ने अन्य पार्टी र समूहसँग एकताका लागि सधैं तयार रहेको निर्णय गरेको हो ।
‘खासगरी पार्टीबाट फुटेर गएका र अलग भएकाहरुलाई राप्रपाको मूलधारमा समाहित गर्न उच्च प्राथमिकता दिइने छ । पार्टी एकताको ढोका सदैव खुला रहने छ’ बैठकपछि राप्रपाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले संगठन निर्माण तथा सुदृढिकरमा केन्द्रित हुने निर्णय पनि गरेको छ । पुस मसान्तभित्र देशभरका ७५३ वटै गाउँपालिका र नगरपालिकाको वडाहरुमा पार्टी ईकाई समितिको गठन एवं पुनर्गठन गर्ने निर्णय पनि गरेको वैठकपछि महामन्त्री भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७६ जेठ महिनामा ७ वटै प्रदेशको अधिवेशन र प्रदेश कार्यसमितिको गठन तथा पुस मसान्तभित्र ५० हजार थप सक्रिय सदस्यहरु बनाउने गरी सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

राप्रपाले आगामी माघ १५ देखि २५ सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिने गर्ने निर्णय पनि गरेको छ ।

राप्रपाले देशमा दुई तिहाई बहुमतको सरकार भएको जनताले अनुभूति गर्न नपाएको पनि बताएको छ । ‘संविधान बमोजिम चुनाव सम्पन्न भई दुई तिहाई बहुमतका साथ सरकार गठन भएको ९ महिना भएको छ, तर जनताले राहत र परिवर्तनको अनुभूति गर्न पाएका छैनन्’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, नेपाली भूभागमा बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको, धर्मपरिवर्तनको कारण राष्ट्रिय पहिचान कमजोर हुने, सामाजिक सदभाव र एकता खलबलिने तथा देश धार्मिक द्वन्द्वको दलदलमा फस्ने संभावना देखिएको पनि राप्रपाले बताएको छ ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले जमिन निजी सम्पत्ति नभइ भोगाधिकार मात्र हुनुपर्ने भनी अर्थमन्त्री युवराज खतिवडाको धारणा सार्वजनिक भएको भन्दै त्यसले पार्टीलाई गम्भीर बनाएको जनाएको छ ।

प्रवक्ता राजेन्द्र गुरुङ्ले विज्ञप्ति निकालेर संविधानको भावना र मर्ममा कुठाराघात हुने र उदारवादी अर्थतन्त्रको मर्मस्थलमै प्रहार हुने गरी शास्त्रीय अर्थतन्त्रको पक्षपोषण पुग्ने अभिव्यक्ति आउनु दुर्भाग्य भएको उल्लेख गरेका छन् ।