भएको बजेट पनि खर्च गर्न सक्दैन प्रदेश सरकार

प्रकाशित मिति:

प्रदेश ५ मा साउनदेखि कार्तिक महिनासम्म ९ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारले बजेट खर्च नगर्दा विकास–निर्माणका साथै अर्थतन्त्रमा समेत प्रभाव पर्ने देखिएको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको चालु खर्च १५ प्रतिशत नाघिसक्दा पूँजीगत खर्च भने ९ प्रतिशत मात्र भएको हो ।५ नम्बर प्रदेशका ७ वटा मध्ये अधिकांश मन्त्रालयले चालु खर्च मात्र गरेका छन् । केही मन्त्रालयको पूँजीगत खर्च शुन्य प्रतिशत छ भने केहीको ५ प्रतिशत छ । प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्रालय सचिव थानेश्वर पौड्यलका अनुसार मन्त्रालयको बजेट १६ अर्ब रहेकोमा अहिलेसम्म खर्च ४ करोड १३ लाख मात्र भएको छ । अर्थात् १ प्रतिशत पनि खर्च भएको छैन । प्रदेश ५ अन्तरगत राम्रो बजेट भएको मन्त्रालय मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयसँग १३ अर्बभन्दा बढी बजेट रहेको छ ।
उक्त मन्त्रालयले अहिले सम्म पूँजीगत खर्च नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तै समाजिक विकास मन्त्रालय, भूमि व्यवस्था तथा कृषी मन्त्रालय, उद्योग पर्यटन मन्त्रालयको पूँजीगत खर्च अहिलेसम्म शुन्य नै गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ५ का प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवाली कार्यालयहरुले सवारी साधन र फर्निचर लगायतका सामानमा मात्र बढी खर्च गरेको बताउनु भयो ।गत आर्थिक वर्षमा २ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले अहिले पनि बजेट परिचालनमा ढिलाई गरिरहेको छ । पहिलो चौमासिक सकिँदासम्म पूँजीगत खर्चको अवस्था निकै सुस्त देखिएको छ । प्रदेश सरकारका मन्त्रालयहरुले खर्च गर्ने मातहतका निकाय निकै कम हुनु र भएका निकायहरुलाई पनि स्पष्ट रुपमा खर्च गरेर काम गर्ने जिम्मेवारी प्रदान नगर्दा यस्तो अवस्था देखिएको जानकार बताउँछन् । बजेट खर्च गर्ने कार्यालयहरू टुंगो नलाग्नु, बजेट आए पनि कार्यालय स्थापना नहुनु र स्थापना भएका कार्यालयमा समेत कार्यालय प्रमुख नआइपुग्नु जस्ता कारणले मन्त्रालय अन्तरगत पूँजीगत खर्च परिचालनको अवस्था कमजोर भएको लेखा नियन्त्रक ज्ञवालीको बझाई छ । उँहाले ढिला सुस्तीका कारण ४० प्रतिशत बजेट खर्च हुन गाह्रो हुने बताउँनु भयो । आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव पौड्यालले कर्मचारी अझै नआउनु र संरचना पनि नबन्दा बजेट खर्च गर्न नसकेको बताउनु भयो ।