अनावश्यक विदेश भ्रमण नगरी परिणाममुखी काम गर्न मन्त्रि तथा सचिवहरुलाई प्रधानमन्त्रिको निर्देशन

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्। काममा परिणाम आउनेगरी केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी समीक्षा बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभई कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको बताएका छन्। ‘यो बैठक परिकल्पनाको समीक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन्। कार्यन्वयनको राम्रै सुरुआत भएको छ। तर यसलाई तीव्रता दिनु पर्दछ।’ उनले जनतासँग सरोकार राख्ने आयोजनाका कार्यहरू समयमै सक्न पनि निर्देशन दिएका थिए।