तिलोत्तमा मेलामा मनोरन्जनसंगै आजबाट कुस्ती प्रतियोगिता पनि

प्रकाशित मिति:

उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा रुपन्देहीको मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवमा आज सोमबारदेखि कुस्ती प्रतियोगिता शुरु हुने भएको छ । नेपाल र भारत बाट गरी १६ जना पुरुष तथा महिलाहरु सहभागि हुने उक्त कुस्ती प्रतियोगिता तीन दिनसम्म संचालन हुने खेलकुद तथा अतिरिक्त कृयाकलाप संयोजक सितल ज्ञवालीले जानकारी दिए ।
खेल क्षेत्रको प्रबद्र्धन र कुस्ती पारखीहरुलाई महोत्सवमा आकर्षण गर्नको लागि आयोजना गरिएको कुस्तीले विशेष गरी रुपन्देही जिल्लाका ग्रामिण भेग सहित भारतको सुनौली सम्मका दर्शकलाइ आकर्षण गर्ने लक्ष रहेको संयोजक ज्ञवालीले बताए ।
त्यस्तै महोत्सवमा संचालित ५ ए साइड फुटवल प्रतियोगिताले पनि दर्शकलाई तानेको छ । शुक्रबार बाट सुरु भएको उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको खेल संयोजक ज्ञवालीले बताए । प्रतियोगितामा आइतबार तीन खेल सम्पन्न भएका छन् । जस अन्तर्गत सयपत्रि युवा क्लब र तिलोत्तमा बीच भएको खेलमा सयपत्रीले तिलोत्तमालाई २ का बिरुद्ध ५ गोलले जित हासिल गर्न सफल भएको छ । त्यस्तै दोस्रो खेलमा स्मृति फुटवल क्लब र लिस्नु युवाक्लब बीच भएको खेलमा स्मृतिले लिस्नुलाइ सुन्यका बिरुद्ध ४ गोलले जित हात पारेको छ भने प्रतियोगिताको तेस्रो खेलमा सिद्धार्थ युवा क्लब र झरना स्पोर्टस क्लब बीच भएकोमा झरनाले सिद्धार्थलाई ३ का बिरुद्ध ४ गोलले जित हात पार्न सफल भएको खेल संयोजक ज्ञवालीले बताए ।
प्रतियोगितामा आज सोमबारपनि तीन खेल सम्पन्न हुने छन् । १ बजेदेखि सुरु हुने प्रतियोगितामा माउण्ट स्टार फुटवल क्लब र डि।एम।सी। तुल्सीपुर, सुनौलो संगम युवा क्लब र बुद्ध युवा क्लब, फुलवारी गाइज फुटवल क्लब र नव युवा खेलकुद तथा सांस्कृतिक परिवार बीच प्रतिस्पर्धा हुने खेल संयोजक ज्ञवालीले बताए ।
त्यस्तै महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरेको छ । आइतबार लोक तथा दोहोरी गायक भागिरथ चलाउने, गायिका सम्झना भण्डारी, हास्य कलाकार पुरुस्वत्तम भण्डारी पुर्खे बा, डान्सर विजय गुरुङ र सविता लगायतको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए । सास्कृतिक संयोजक प्रेम बहादुर घर्तीका अनुसार आज सोमबार लोक तथा दोहोरी गायक प्रचण्ड जीसी, गायिका शीलु भट्टराई, रुपा घर्ति मगर लगायतको प्रस्तुती रहने छ । महोत्सवमा आइतबार मात्र ८ हजार दर्शकले अवलोकन गरेको र ८० लाखको कारोबार भएको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।