पूर्व स्वास्थ्यमन्त्री बोहराद्धारा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानलाई आइसोलेशन सेन्टर बनाउन अपिल

प्रकाशित मिति:

पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराका बुवा स्व प्रतिमान बोहरा र आमा स्व नीमा बोहराको नाममा स्थापित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आइसोलेशन सेन्टर सञ्चालनका लागि आफ्नो भवन उपलब्ध गराउने भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सीता नर्सरीमा रहेको २ तल्ले १२ कोठे भवनमा अस्थायी आइसोलेशन सेन्टर सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । दोस्रो चरणको कोरोना महामारी समुदायस्तरमा फैलिएको र अस्पतालहरुमा बिरामीको चाप बढ्नुका साथै बेडको अभाव भएकोले शुक्रबार बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले आइसोलेशन सेन्टरका लागि भवन उपलब्ध गराउने निर्णय भएको संस्थाकी अध्यक्ष विजया के।सी।ले बताइन् । कोभिड–१९ को कारण नेपाल सरकारको शिक्षा मन्त्रालयको निर्णय अनुसार भौतिक रुपमा विद्यालयमा पठनपाठन बन्द रहेकोले संस्थाको भवनलाई अस्थायी आइसालेशन सेन्टर सञ्चालनका लागि सहमति प्रदान गरिएको उनले जानकारी दिइन् ।

‘प्रतिष्ठानको भवनलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय जुनसुकै तहको सरकारले अस्थायी आइसोलेशन सेन्टरको रुपमा सञ्चालन गर्न सक्ने निर्णय गरेका छौं, ’प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् ।गत वर्ष पनि कोभिड–१९ को संक्रमणका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग पुर्याउने उद्देश्यले २०७६ चैत ११ देखि करिब ९ महिना भवन परिसरमा क्वारेन्टिन, होल्डिङ सेन्टर, हात धुने ठाउँ र शौचालय निर्माण गरी नेपाली सेनाको समन्वयमा सञ्चालन गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के।सी।ले बताए । संस्थाले अग्रपंक्तिमा रही काम गर्ने स्वाथ्यकर्मीहरुलाई कोरोनाविरुद्ध लड्न तालिम समेत प्रदान गरेको उनले जानकारी दिए । संस्थाले विगत १५ वर्षदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा प्राविधिक, महिला स्वास्थ्य शिक्षा, वातावरण र सामुदायिक क्षेत्रमा कार्य गर्दै आएको छ । कोरोना महामारीको बेला पनि प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको थियो ।