२४ घण्टामा  ८४१८ लाई कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, वैशाख २५ – पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ। उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन्।यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार २ सय ७० छन्। यस्तै, ललितपुरमा ४ सय ६२ र भक्तपुर जिल्लामा ३ सय ८१ जना संक्रमित थपिएका छन् ।