साँढे मार्ने कामका लागि अमेरिकामा ४५ हजारले दिए आवेदन

प्रकाशित मिति:

काठमाडौं । अमेरिकाको ग्राण्ड क्यानोन राष्ट्रिय निकुञ्जमा पाइने वन्यजन्तुमध्ये अमेरिकन बिसन अर्थात् अमेरिकी साँढेको संख्या अत्याधिक बढेसँगै सरकारले झण्डै ४ सय साँढे मार्ने निधो गरेको छ । त्यसका लागि अमेरिकाको नेशनल पार्क सर्भिस कार्यालयले साँढे मार्न १२ जना सिपालु स्वयंसेवकका लागि आवेदन खुलाएको थियो । तर स्वयंसेवकको जागिरका लागि ४५ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
धेरैले त्यसलाई साँढेको शिकार भन्ठानेको र जंगलमा शिकार खेल्ने इच्छा भएका हजारौंले आवेदन गरेको बताइएको छ । तर साँढे मार्ने कामलाई शिकार भनिएको छैन । किनकि अमेरिकी राष्ट्रिय निकुञ्जहरुमा शिकार निषेध छ ।

कुल ४५ हजार ४० जना आवेदकमध्ये साँढे मार्न खटाइने १२ जना भाग्यमानीहरु छनोटका लागि सोमबार चिट्ठा खोलिनेछ । जसका लागि शुरुमा २५ जनाको प्रारम्भिक सूची निकालिनेछ । राष्ट्रिय निकुञ्जका अधिकारीहरुले उनीहरुको सिपको जाँच गरेसँगै अन्तिम १२ जना छनोट हुनेछन् । तिनै १२ जनाले राष्ट्रिय निकुञ्जको नर्थ रिम क्षेत्रमा बिसन मार्ने काम पाउनेछन् ।

उता जंगली जनावर मार्नका लागि सार्वजनिक रुपमा स्वयंसेवकहरुको विज्ञापन गर्ने यस्तो कार्यले गलत नजिर बस्ने भन्दै वातावरणवादीहरुले विरोध जनाएका छन् ।अधिकारीहरुले भने पछिल्ला वर्षमा निकुञ्जमा बिसनको संख्या अत्यधिक वृद्धि भएर विभिन्न पुरातात्विक सम्पदाहरु मासिने, भू–क्षय तथा पानीका स्रोेतहरु समेत फोहोर हुने क्रम बढेकाले बिसनको संख्या घटाउन लागिएको जनाएका छन् । एजेन्सीको सहयोगमा@onlinekhabar