मेनुका श्रेष्ठ नदीमा हाम फालेर बेपत्ता

प्रकाशित मिति:

पर्वत, १० मङ्सिर – कालीगण्डकी नदीमा हाम फालेर यहाँकी एक किशोरी बेपत्ता भएकी छन् ।

दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नदीमा हाम फालेर बेपत्ता भएकी मेनुकाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भइरहेको जानकारी दिए ।

बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीबाट प्रहरी परिचालन भइरहेको छ । उनी किन हाम फालेकी हुन् वा पुलबाट खसेकी हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।