रुपन्देहीको मायादेवी गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर ३ कम्हरियास्थित गाउँ कार्यपालिका कार्यालय नजिकै रहेको सभाहलमा १० बेडको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।कोरोना संक्रमितको उपचार तथा हेरचाहका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । उनले अस्पतालमा चार जना स्वास्थ्यकर्मीको टोलीलाई सिफ्ट अनुसार खटाइने बताए । ‘एक जनालाई चिकित्सक पनि राख्ने तयारीमा छौं, स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा हुनुहुन्छ, आजदेखि नै कोरोना संक्रमित बिरामीलाई यहाँ राख्न सकिनेछ, ’उनले भने ।
सोमबार अस्पतालको शुभारम्भ गरिएको छ । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले निषेधाज्ञाको पालना गर्न गाउँपालिकावासीलाई आग्रह गरे । उनले कोरोना महामारीको यो विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी सतर्क रहनुपर्नेमा जोड दिए । ‘आवश्यकता अनुसार कोभिड–१९ अस्पतालमा बेड थप्छौैं, ’चौधरीले भने । जनताको बीचमा निरन्तर रहेर काम गर्दै आएको उनको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि राम पन्थीले गाउँपालिकावासीको ज्यान बचाउन विशेष गरी स्वास्थ्यकर्मीकर्मी भूमिका महत्वपूर्ण रहने बताए । उनले बिरामीको ज्यान बचाउने उद्देश्य लिएर उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । ‘कमजोर मनोबल नबनाउनुस्, हामी साथमा छौं, निरन्तर निरीक्षण गछौं,’ उनले भने । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयको अनुसार हाल गाउँपालिकामा संक्रमितको संख्या एकसय पुगेको छ ।