सेयर बजारमा चमक फर्कियो

प्रकाशित मिति:

काठमाडौं : सेयर बजारले करेक्सनपछि फेरि आफ्नो अगाडिको यात्रा सुरु गरेको छ । नेप्से सूचक वृद्धि हुँदै गएकाले अब विस्तारै कारोबार भोलुममा पनि सुधार आउँदै जाने अनुमान गर्न सकिन्छ । सूचकले साथ दिंदै गएपछि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुँदै जानेछ । त्यसपछि फेरि ‘एग्रेसिभ बाइङ’ आउने विश्वास गर्न सकिन्छ । कोरोनाका कारण लक डाउन जारी छ । यसबाट लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । यतिबेला लगानीका लागि सेयर बजार राम्रो विकल्प भएको छ ।

यसले पनि बजारमा सकारात्मक माहोल ल्याउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । यो भन्दा पनि अझ महत्वपूर्ण पक्ष भनेको बजारमा यसबीचमा करेक्सन आएकाले सेयर भाउहरु सस्तो भएको छ । कतिपय कम्पनीको भाउ ३ महिना पहिलाको भन्दा अहिले निकै सस्तो छ । मूल्य सस्तो भएकाले पनि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सबैखाले लगानीकर्ताको आकर्षण वृद्धि हुने देखिन्छ । यसभन्दा पहिले पनि नेप्से सूचक २७ सय विन्दुभन्दा माथि लागेपछि प्राविधिक औजारहरुलाई हेर्दै ट्रेडरहरुले सेयर बिक्री नाफा सुरक्षित गरेका थिए । त्यही क्रममा कोरोना संक्रमण र लक डाउनका खबरहरु सार्वजनिक भए । यसबीचमा राजनीतिक अन्योलता पनि बढ्यो । यसले पनि बजारलाई थप तल झार्ने काम गर्यो । फेरि केही बढेपछि बजार पुनः साइडवेजको अवस्थामा गयो । यी दुवै चरणले पनि लामै समय लिइसकेकाले अब बजार विस्तारै उकालो यात्रामा लाग्ने अनुमान गरिएको छ ।

बजार बढ्दा होस् या घट्दा, आम लगानीकर्तामा धैर्यता र अनुशासन आवश्यक हुन्छ । आत्तिएर निर्णय लिंदा फाइदाजनक नहुन पनि सक्छ । कोरोनाकै कारण लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था छैन । अब बैंकिङ तरलता थप बढ्नेछ । ब्याजदर सस्तो छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण औसतमा निकै आकर्षक आएको छ । यी समग्र परिदृश्यहरुमा सेयर बजारको आगामी दिनहरु सुनौलो रहेन विश्लेषणहरु भइरहेका छन् । तर यसको अर्थ, बजार सधैं बढ्छ भन्ने होइन । तलमाथि गर्दै माथिल्लो विन्दुतर्फ अग्रसर हुने हो । नेप्से सूचक २७।४७ अंकले बढेर २६७३।३१ विन्दुमा आइपुगेको छ । ५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो खरिदबिक्री रकम औसतमा राम्रो हो । २२ं० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । खरिदबिक्री भएका सबै समूहको सूचकमा हरियाली आएको छ । ट्रेडिङ, उत्पादनमूलक तथा अन्य समूह बढी चम्किएको छ । यस्तै, बिमा समूहहरुमा पनि राम्रो बढोत्तरी भएको छ । ७६ करोड ६५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा अपि पावर र तेस्रोमा शिवम सिमेन्ट्स परेका छन् । ५ कम्पनीको भाउ ९५ भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।