काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

प्रकाशित मिति:

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । कोरोना महामारीको दोस्रो लहर चलिरहँदा यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ।

बैठकको निर्णय अनुसार पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने भनिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो।

अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको बताइएको। यस्तै, राष्ट्रिय महत्वका विकास आयोजनाबाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने छन्। त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने बताइएको छ ।