अमेरिकाको सीमामा हुलदंगा मच्चाउने आप्रवासीलाई मेक्सिकोले देशनिकाला गर्ने

प्रकाशित मिति:

मंसिर १०, २०७५ काठमाडौं — अमेरिकाको सीमामा हुलदंगा मच्चाउन खोज्ने ५०० आप्रवासीलाई देशनिकाला गरिने मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । bआप्रवासीको यो समूहलाई आइतवार हिंस्रक तथा अवैध रूपमा सीमा पार गर्न खोजेपछि पक्राउ गरिएको मन्त्रालयले एक वक्तव्य जारी गर्दै भन्यो ।

मेक्सिकोको तिजुआना शहरमा दुई देशको सीमामा रहेको पर्खालतिर दौडने महिला तथा बालबालिका सहितका दर्जनौं मानिसलाई अमेरिकी सीमा अधिकारीहरूले अश्रूग्यास प्रहार गरेर भगाएका थिए ।  लगभग ५०० आप्रवासीले हिंस्रक तरिकाले सीमा पार गर्न खोजेको गृह मन्त्रालयको वक्तव्यमा उल्लेखित छ ।  हिंस्रक घटनामा संलग्न व्यक्तिहरूलाई तत्कालै देशनिकाला गरिने त्यसमा लेखिएको छ ।

आप्रवासीहरूको हिंस्रक क्रियाकलापले वैध आप्रवासन संरचनाको उल्लंघन गरेको र उनीहरूको उद्देश्यपूर्तिमा बाधा गरेको मन्त्रालयले थप्यो ।
नोभेम्बर महिनाको शुरूआतमा तिजुआनामा हजारौं आप्रवासी ओइरिएपछि तनाव बढेको छ । तिजुआनाका आप्रवासीहरू चार हजार किलोमिटरभन्दा बढी हिँडेर मध्य अमेरिकाबाट त्यहाँ आइपुगेका हुन् ।

उनीहरू आआफ्ना देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरबाट दमन, गरीबी र हिंसा छल्न भागेका हुन् । र अमेरिकाले उनीहरूको शरणार्थी निवेदनलाई स्वीकार गर्छ कि गर्दैन भनी उनीहरूले लामो प्रतीक्षा गर्नुपर्ने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूको मुद्दा अदालतले फर्छ्यौट नगरेसम्म सीमापारि नै राख्ने बताएका छन् ।
फर्छ्यौट हुन महिनौं लाग्छ ।