स्याङ्जामा कोरोनाबाट १८ जनाको मृत्यु, संक्रमितको संख्या ६ सय नाघ्यो

प्रकाशित मिति:

वालिङ, २८, बैशाख,-कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार १३ जना पुरुष र ५ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पहिलो कोरोना संक्रमणबाट २१ ज्यान गुमाएका थिए । स्याङ्जामा दोस्रो लहरको संक्रमण शुरु भएको एक महिनामै मृतकको संख्या बढ्नुले जिल्लावासीमा त्रासको वातावरण सिर्जना भएको छ ।

११ स्थानीयतह रहेको स्याङ्जामा सबै भन्दा बढी संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा निधन भएको छ । गल्याङ्मा संक्रमितको संख्या थोरै भएपनि मृत्यु हुनेको संख्या भने अन्य पालिकाको भन्दा बढी रहेको छ भने वालिङमा संक्रमितको संख्या अन्य पालिकाको भन्दा बढी रहेको छ । वालिङमा मात्रै संक्रमितको संख्या १ सय ९४ पुगेको छ । संक्रमितको संख्यामा वालिङ पछिको पुतलीबजार र चापाकोट नगरपालिका रहेका छन् । जिल्लामा हाल सम्म ६ सय २८ संक्रमित संख्या पुगेको छ । ति मध्ये १६ जनाले कोरोना संक्रमण जितेर निको भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त प्रमुख बिष्णु प्रसाद सुवेदीले जानकारी दिए । गतबर्षको भन्दा संक्रमणको दर यो पटक दोब्वर रुपले बढ्दै गएकाले सबैलाई सुरक्षित भएर घरमै बस्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । गतबर्ष ८ महिनामा करिव ९ सय संक्रमित भएको जिल्लामा यो पटक बैशाख महिनामै ६ सय २८ संक्रमितको संख्या पुग्नुले समुदायमा भयावह स्थिति हुन सक्ने आकल स्वास्थ्य विज्ञहरुको छ । जिल्लामा मृत्यु भएका मध्ये १६ जनाको पोखरा र २ जनाको जिल्लामै निधन भएको छ । जिल्लामै निधन भएका संक्रमितको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

कुन पालिकाका कति संक्रमित-११ पालिका मध्ये सबै भन्दा बढी संक्रमित वालिङ, पुतलीबजार र चापाकोटमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार वालिङमा १ सय ९४, पुतलीबजारमा ८९ र चापाकोट ७८, भीरकोट नगरपालिकामा ५४ जनामा संक्रमण देखिएको छ । त्यसै गरी आँधीखोलामा १५, फेदिखोलामा ७, अर्जुनचौपारीमा १५, बिरुवामा १२, हरीनासमा ५, कालीगण्डकी गाँउपालिकामा २३ जनामा संक्रमण भएको छ । यसै गरी वालिङमा ९, पुतलीबजारमा ३, भीरकोट नगरपालिकामा १ र आँधीखोलामा १, फेदिखोला गाँउपालिकामा २ जना गरी १६ जना संक्रमणबाट निको भएका छन् । संक्रमण देखिएका अधिकांशलाई होम आइसोलेसनमा उपचार भइरहेको छ भने केहीलाई स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्यले जनाएको छ । जिल्लाका सबै पालिकामा अहिले संक्रमणले छोएको छ । सबै पालिकाले नागरिकको स्वास्थ्य सुरक्षका लागि विभिन्न माध्यमहरु अपनाएर काम गरिहेका छन् । साह्रै समस्या आएमा पालिकाले निमार्ण गरेका अक्सिजन सहितको आइसोलेसनमा उपचार गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।