आफूसँग जे जति छ त्यसैमा रमाऔँ’ बुद्धको एक प्रेरक प्रसङ्ग

प्रकाशित मिति:

बुद्धले प्रवचन दिए । सबै जना मन्त्रमुग्ध भए । प्रवचन सकिएपछि बुद्ध आँखा बन्द गरेर बसिरहेका थिए । आनन्दले बुद्धसँग सोधे— भगवान् ! तपाईंको अगाडि बसिरहेका मानिसमध्ये सबैभन्दा धेरै सुखी को छ ? बुद्धले जवाफ दिए— सबैभन्दा पछाडि जुन सोझा गाउँले व्यक्ति आफ्नो आँखा बन्द गरेर बसिरहेका छन्, उनी सबैभन्दा धेरै सुखी छन् ।

यस्तो सुनेर सबै अचम्ममा परे । बुद्धले भने— आऊ मेरो पछाडि । म तिमीलाई यसको प्रमाण दिन्छु । उनले एक एक गरेर सबैलाई सोधे— तिमीलाई के चाहिन्छ ? कसैले मलाई छोरा चाहिन्छ भने । कसैले सम्पत्ति र कसैले शान्ति चाहिन्छ भने । सबैभन्दा पछाडि बसेका गाउँले व्यक्तिले जवाफ दिए— भगवान् ! म पूर्णरुपमा सन्तुष्ट छु । मलाई केही पनि चाहिँदैन । मसँग जति छ त्यतिबाट सन्तोष मिलिरहोस् भनेर आशीर्वाद दिनुहोस् । आनन्दले भगवान् बुद्धको आँखामा हेरिरहे । साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट