बिहे भोज गर्ने दुई बेहुला पक्राउ

प्रकाशित मिति:

पर्वत, वैशाख २९ । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज गर्ने बेहुला पक्राउ परेका छन्। कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा पक्राउ परेका हुन्। सोमबार बिहे गरेका दुई जनाले एकै ठाउँमा भीड गरेर भोज गरेको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ। उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन्।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको प्रहरीले जनाएको छ। प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए। प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।