पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीकोभने उपचार जारी

प्रकाशित मिति:

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनी राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई आज डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो । कोमलको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन् ।

पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा। जेपी जैसवाल र चेस्ट फिजिसियन डा। बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।