मेरो र पार्टीको बदमान गर्न किर्ते विज्ञप्ति निकालियो : सांसद शाही

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू र आफ्नो पार्टीको बदनाम गर्न किर्ते हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको बताउनुभएको छ । बुधबार दिउँसो शाहीको नामबाट जारी विज्ञप्तिप्रति आपत्ति जनाउँदै शाहीले पार्टीको बदनाम गर्न खोज्ने तत्वहरुले किर्ते काम गरेको बताउनुभयो ।

उहाँले आफू पार्टी निर्णय र निर्देशन विपरित गएको भनेर सरासर झुठो प्रचार गरिएको बताउनुभयो । पार्टीको निर्देशन अनुसार कृष्णचन्द्र पोखरेल नेतृत्वको गठबन्धनको पक्षमा  मंगलबार हस्ताक्षर गरिसकेको जानकारी दिँदै शाहीले आफ्नो नामबाट किर्ते विज्ञप्ति प्रकाशित गरेर बदनाम गर्ने प्रयास गरिएको बताउनुभयो । मैले पार्टीको निर्देशन अनुसार हिजै गठबन्धनको पक्षमा हस्ताक्षर गरिसकेको छु । त्यस सम्बन्धमा फेसबुकमा स्ट्याटससमेत राखेको छु’ शाहीले युगदर्शनसँग भन्नुभयो, ‘मेरो नाममा आज जारी भएको विज्ञप्ति किर्ते हो । म र मेरो पार्टीलाई बदनाम गराउन किर्ते काम गरिएको हो ।’

बुधबार सांसद शाहीको नाममा जारी विज्ञप्तिमा नेपाली कांग्रेससहितको गठबन्धनमा आफ्नो समेत हस्ताक्षर रहेको समाचार आएको भन्दै त्यसमा संलग्नता नभएको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनि बाहिर विभिन्न सञ्चारमाध्यममा प्रकाशित-प्रशारित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सबैलाई जाानकारी गराउन चाहन्छु । म कुनैपनि गठबन्धनमा नभएको तटस्थ रहेको जानकारी गराउन चाहन्छु। ’
शाहीले बुधबार साँझ नै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखि उक्त विज्ञप्तिको खण्डन गर्नुभएको छ ।

‘विभिन्न समाचार माध्यममा प्रकाशित मेरो चरित्र हत्या गर्ने गरी प्रचारमा ल्याइएको समाचारप्रति ध्यानाकर्षण गराउँदछु। मैले हस्ताक्षर गठबन्धनमा गरेको हुँ’ शाहीले स्ट्याटसमा लेख्नुभएको छ ।बुधबार दिउँसो गण्डकी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै सो प्रदेशमा रहेका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी जसपा सहितका चार दलले प्रदेश प्रमुख सीता पौडेललसमक्ष बहुमतको सरकार बनाउन दाबी पेस गरेका थिए । सो दाबी पत्रमा सांसद शाहीले हस्ताक्षर गर्नुभएको छ । पार्टीको निर्देशन अटेर गरी हस्ताक्षर गर्न नमान्ने कृष्ण थापालाई भने राजमोले कारबाही गरी संसदीय दलको नेताबाट हटाइसकेको छ ।