अक्सिजन अभावमा जनताको ज्यान नगुमोस् : बोहरा

प्रकाशित मिति:

पूर्व स्वास्थ्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराले अक्सिजन र उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसंग आग्रह गरेका छन् । उनले समयमा अक्सिजन उपलब्ध हुन नसकेको घटनाको छानबीन गरी दोषी माथि कारवाही गर्न समेत स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बिहीबार विज्ञप्ती जारी गर्दै नेता बोहराले रूपन्देहीको बुटवलमा ५ जना र सिद्वार्थनगरमा ४ जना कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर नै ज्यान गएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

‘यो सरकारको गम्भिर लापरवाहीको परिणाम हो । कोरोनाको दोस्रो लहरको भयावह स्थितिमा अक्सिजनको प्रयाप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नयाँ बिरामी लिन नसक्ने जस्तो सुचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवार कार्य हो, विज्ञप्तीमा भनिएको छ । अहिलेको मुख्य कार्य भनेको जनताको जीवनको सुरक्षा भएकोले प्रदेश र स्थानीय सरकारले आफ्नो सम्पूर्ण श्रोतसाधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जीवन रक्षामा लगाउन उनको आग्रह छ ।

जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकोले नागरिकको जीवन रक्षा र सरलीकरणको लागी खोपको तत्काल व्यवस्था गर्नु आवश्यक रहेको पूर्वमन्त्री बोहराको भनाइ छ । खोप नलगाएकालाई लगाउने व्यवस्था गर्न र पहिलो कोभिसिल्डका खोप लगाएकाहरूको दोस्रो खोप लगाउने समय पुरा हुन लागेको अवस्थामा छिमेकी मुलुक भारतबाट जुनसुकै माध्यमबाट ल्याएर भए पनि दोस्रो खोपको व्यवस्थाको लागि समेत सरकारसंग उनले आग्रह गरेका छन् । ‘भेरोसेलको दोस्रो खोपको व्यवस्था गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु । अहिले कोरोनाको कारण स्थिति भयावह बन्दै गइरहेको छ । यो अवस्था सचेत रहन र सुरक्षित रहन सबैमा अपिल गर्दछु, विज्ञप्तीमा उल्लेख छ । स्वास्थ्य सुरक्षा अपनाई महामारीमा नागरिकको जीवन रक्षामा आवश्यक सहयोग गर्न राप्रपाका सम्पूर्ण सदस्यहरूलाई पार्टीका वरिष्ठ नेता बोहराले आग्रह गरेका छन् । महामारीमा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै बोहराले कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् ।