ग्रील उद्योगीले स्थानीय तहलाई दिए सिलिण्डर

प्रकाशित मिति:

बुटवल, ३० बैसाख । अस्पतालमा अक्सिजनको हाहाकार भएपछि ग्रील तथा स्टिल व्यवसायीहरुले आफ्ना उद्योगमा रहेका सिलिण्डर रुपन्देहीका स्थानीय तहलाई दिएका छन् । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देही अन्तर्गतका बुटवल, सैनामैना र तिलोत्तमा इकाई समितिले उद्योगहरुबाट जम्मा गरी सम्बन्धित स्थानीय तहलाई दिएका हुन् ।

संघका जिल्ला अध्यक्ष तुलबहादुर सारुका अनुसार कोरोना संक्रमित विरामीको जीवन रक्षा होस् भनेर तीन वटा इकाई समितिले गरी करिब ४५ थान सिलिण्डर दिएका छन् । तिलोत्तमा नगर इकाईका सन्तोष कंवर, सैनामैनाका कृष्ण पोखरेल र बुटवल इकाई समितिका बालकृष्ण भट्टराईको नेतृत्वमा अक्सिजन सिलिण्डर संकलन गरी हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष सारुले बताए ।