काठमाडौं, वैशाख : एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । विपक्षी गठबन्धनले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठन गर्न नसकेपछि ओली नै दोहोरिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रतिनिधिसभामा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
तोकिएको अवधिसम्म कसैको पनि दाबी प्रस्तुत हुन नआएको उल्लेख गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरेको थियो ।ओलीले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्नुपर्नेछ ।२७ वैशाखमा ओलीले प्रस्ताव गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि ओली नै दोहोरिएका हुन् ।
यससँगै ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । एमाले र माओवादी केन्द्रको सहकार्यमा उनी दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसअघि २५ असोज ०७२ देखि २० साउन ०७४ सम्म प्रधानमन्त्री बनेका थिए ।