कविताः डाक्टरको डायरी

प्रकाशित मिति:

-दिनेश खड्का
‘डाक्टर ! मलाई बचाउनुस्
म बाँच्न चाहन्छु !’
अत्तालिँदै भन्यो उसले
छटपटाउँदै र तड्पिँदै
काटिएको पङ्क्षीजस्तै
किचिएको कमिलाजस्तै ।
श्वासको सर्को तानेर फेरि
हे¥यो उसले आशाले मतिर
र,बेहोसीमा बेजोडले बोल्यो–
डाक्टर, मलाई जसरी नि बचाउनुस् !
बाघले झम्टिएको मृगजस्तै
चिलले समातेको चल्लाजस्तै
ऊ बेहाल थियो मेरै अगाडि
र, म लाचार भएको थिएँ
बाढीले बगाएको बारीजस्तै
पहिरोले पुरिएको पहरोजस्तै ।

रातीको बाह्र बज्नै लाग्दा
ऊ बेहोस भयो सदाका लागि
म बेचैन भएँ सदाका लागि
एउटा मान्छे बचाउन नसकेकोमा
मलाई मेरो डिग्रीले गिज्यायो
मलाई मेरो पोसाकले गिज्यायो
र लगाइदियो आजीवन कालोमोसो ।
लाग्यो म गलत पेसामा छु
लाग्यो म भगवान् रैनछु ।
निराशाको कालो बादल मडारियो
मनभरि र तनभरि एकैसाथ
पुलुक्क उसको मुहारमा हेरेँ
ऊ स्थिर भैरहेको थियो र म अस्थिर
ऊ शान्त भैरहेको थियो र म अशान्त ।

महिनौँ भयो साईरनलाई सुनेको
महिनौँ नै भयो सेतोमा सजिएको
भरिएका छन् पृष्ठ कारुणिक कथाले
रित्तिरहेका छन् खुसीका रङ्गहरु
दिइरहेका छन् दृश्यहरुले दर्द
मलिन भएको छ मानवताको मर्म
अछुत भएको छ आत्मीय अङ्गालो
कोरिएको छ सीमारेखा आफैसँग
र, म हैरान भैरहेको छु सिलन्डरसँग
जसले बुझिरहेको छैन जीवनको अर्थ
म झनै थाकिसकेको छु सरकारसँग
जो निर्जीव बनेको छ सिलिन्डर जस्तै
जो बिरामी बनेको छ बिरामी जस्तै ।

‘डाक्टर, म बाँच्न चाहन्छु !’
‘किन बाँच्न चाहन्छौ ?’
‘म मेरो लागि बाँच्न चाहन्छु’
‘अनि परिवार र समाजको लागि नि ?’
‘नाई डाक्टर मेरो लागि मात्र!’
‘कस्तो स्वार्थी तिमी त,
अरुको लागि पो बाँच्नुपर्छ नि,
देशको लागि बाँच्न चाहन्नौ ?’
‘अहँ डाक्टर, कदापि चाहन्न! ’
‘किन नि ?’
‘त्यो परिवारको लागि किन बाँच्ने ?
जो निरिह र नाजवाफ बन्नु पर्दछ
जो मलिन र मूकदर्शक बन्नु पर्दछ ।
अनि, जसले मलाई बचाँउन सक्दैन
त्यो समाजको लागि म किन बाँच्ने ?
त्यो देशको लागि म किन बाँच्ने ?’
‘तिम्रो लागि म…..’
‘डाक्टर, छिटो उठ्नुस् न !
डाक्टर, छिटो यता आउनुस् न !’
नर्सको चिच्चाहटले आँखा खुले
दौडिदैँ बिरामीको छेउमा पुगेँ
स्थिर भैसकेको थियो अर्को बिरामी
अनि,लडेको थियो अक्सिजनको सिलिन्डर
एकैपटक सकिएछन् प्राणवायु र प्राण !
म निसास्सिँदै निःशब्द भएँ,
म नाजवाफ र निरश भएँ ।
सम्झिएँ अघिको सपनालाई
सपनामा त्यही मान्छे थियो
जो मेरै अगाडि रित्तिएको थियो ।
कल्पिएँ अब उसले फर्काउने जवाफ
‘तिमी आफू मात्र बाँचेर के हुन्छ !
जब बिरामी बचाउन सकेका छैनौ !’
कल्पनाले मात्र पनि मन अमिलो भयो
आँखाको आँशुले दृश्य धमिलो भयो ।