कोभिड महामारीमा जिम्मेवार र गम्भीर बन्न सकेन सरकार- देउवा

प्रकाशित मिति:

काठमाडौं ,वैशाख ३१- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणले उग्ररुप लिँदा पनि सरकार गम्भीर र जिम्मेवार बन्न नसकेको बताएका छन् ।

देशभरका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहित आईसीयू बेड र औषधिको अभावले ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको भन्दै उनले भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी अक्सिजन, आईसीयू बेड, खोप लगायत औषिधको व्यवस्था गर्न माग गरेका छन् । उनले तत्काल अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी जनताको उपचारमा गम्भीर बन्न समेत सरकारसँग आग्रह गरेको छ ।

नेता देउवाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरी दिन अपील समेत गरेका छन् ।

देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न समेत उनले अनुरोध गरेका छन् । देशभरका आफ्ना पार्टीका नेता तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न समेत उनले अपील गरेका छन् ।