दिएको जिम्मेवारीमा बुद्धिजीले डिस्टीङसन प्राप्त गर्नु भएको छ

प्रकाशित मिति:

नेपालमा १९९० सालको महाभुकम्पले घर–मतान, जग्गा–जमिन धुजाधुजा बनाएपछि गाई बाख्राको गोठमा जसोतसो सास जोगाएर महिनौ बस्नु परेको दुख पीडाका कथा बुवा आमाको मुखबाट सुनेको थिए । कोरोनाको महामारीले हजारौ मानिसको ज्यान लिएपछिको त्रासदीमा हामी महिनौ घरमा थन्किएर बस्दा अतितको ती संवादहरु स्मृतिमा ताजा भए । अहिले धेरै मानिस आफ्नो ज्यान जोगाउन घर घरमा लुकेर बसेको भयाभह अवस्थामा पनि बुद्धि सुवेदी भने अरुको ज्यान बचाउन सहयोग गर्न मैदानमा दौडिरहनु भएको थियो ।

ह्यान्ड स्यानिटाइजर, माक्स, पी पी ई सेट लगायतका अत्याबश्यक सामानको अभाव भएको थियो । सबै संस्था र निकाय ठप्प जस्तो थिए । यस्तो समयमा त्यस्ता सामान जुटाउँदै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र संक्रमितको ज्यान बचाउन उहाँले निरन्तर प्रयास गरिरहेको हामीले देख्यौं । सेवाभाव र समपर्णको यो अनुपम उदाहरण हो । विश्वको सबै भन्दा ठुलो एनआरएनए एनसीसी अमेरिकामा अघिल्लो निर्वाचनमा सदस्य संख्या घटेर ९ हजारको हाराहारीमा झर्यो भन्दा हामीलाई धेरै नमिठो लाग्यो । अमेरिकामा भन्दा कम नेपालीहरु भएका देशमा एनआरएनएका धेरै सदस्य बढे । अमेरिका दोस्रो ठुलो एनसीसी बन्न पुग्यो । एनआरएनए अमेरिका पदाधिकारी र सदस्यलाई मात्र होइन अमेरिकामा वस्ने हामी सबै नेपालीहरुका लागि यो लज्जाको बिषय थियो ।

अध्यक्षमा निर्वाचित भएपछि सुनिल साहले आफ्नो कार्यकाल पुरा गर्दा सदस्य संख्या दोब्बर भन्दा बढि बनाएर पुन विश्वको सवै भन्दा ठुलो एनसीसी बनाउने उद्घोष गर्नुभएको थियो । त्यसका लागि बुद्धि सुवेदीलाई जिम्मेवारी दिइएको रहेछ । सामान्य अवस्था थियो भने सुनीलजीको नेतृत्वले बुद्धिजीलाई सुम्पिएको काम पुरा गर्नु कुनै ठुलो उपलब्धि मान्नु पर्ने थिएन । ठिक त्यही बेला महामारीले अमेरिकालाई गाँज्यो । यस्तो विषम परिस्थितिमा साहजीले दिएको लक्ष पुरा गर्नु बुद्धिजीका लागि कुइनाले पहाड फोर्नु जस्तै बन्न पुग्यो । महामारीले आक्रान्त भएर त्रासमा बाचेका हामीसबैको मनोबल उच्च बनाउदै च्याप्टर च्याप्टरका गएर मेम्बरसिप ड्राइभ गर्नु भयो बुद्धिजीले । बुद्धिजी हामीकहाँ आउदा उहाँबाट कोरोना हामीलाई सर्ने पो हो की भन्दै डराएका थियौं । स्यानिटाइजर र माक्र्स लगाएर टाढा टाढै बसेर उहाँसँग भेटबार्ता भयो । उहाँको नेतृत्वमा भएको मेम्बरसिप ड्राइभबाट एनआरएनए अमेरिकाले करिब २१ हजार सदस्य जोड्न सफल भयो । एनआरएनए अमेरिकाले दिएको जिम्मेवारीमा बुद्धिजीले डिस्टीङसन प्राप्त गर्नु भयो । बोलेर होइन कामै गरेर सर्बोत्तम नतिजा दिदै बुद्धि सुबेदीजीले सुनिल साहको उत्तराधिकारी म हुँ भनेर प्रमाणित गर्नु भयो ।

बुद्धि सुवेदी च्याप्टरका नेतृत्व गरेर एनसीसीको उपाध्यक्ष बन्नु भएको हो । अब एनसीसीको नेतृत्व गर्दा च्याप्टर र एनसीसी बीच के कस्ता समस्या छन् त्यसलाई कसरी समाधान गर्नु पर्छ भनेर छुट्टै कार्यदल बनाइरहनु पर्दैन । उहाँले फाष्टट्रयाकमा काम गर्न सक्नु हुन्छ ।एनसीसीलाई ब्यबस्थित गर्न केही चुनौती छन् । सबैभन्दा ठुलो एनसीसीको कार्यलय भवन छैन । बुद्धिजीले आफ्नो कार्यकालमा त्यसका लागि ठोस काम गर्ने उद्घोष गर्नु भएको छ । यो ठुलो हिम्मत हो । झोलामा रहेको एनआरएनएलाई ब्यबस्थित गर्दै आफ्नै भवनमा शुसोभित गराउने उहाँको आँटलाई पनि हामीले साथ दिनु पर्छ । बुद्धिजीसँग सहकार्य गरिरहनु भएका कोषाध्यक्षका उम्मेदवार प्रख्यात रकेट साइनटिष्ट राजिब श्रेष्ठको आर्थिक पक्षमा संस्थालाई कसरी बलियो बनाउने भन्ने योजनाले पनि बुद्धिजीको नेतृत्वमा एनआरएनएले काचुली फेर्छ भन्ने मेरो बिश्वास छ ।

एनआरएनए अमेरिका जस्ता एनसीसीहरुलाई स्वतन्त्रता पुर्वक काम गर्न नदिई आपसमा भिडाउने, फुटाउने र केन्द्रबाट अंकुस लगाउने काम आइसीसीका पदाधिकारीहरुले गरिरहेको सबैले बुझेका छौं । एनआरएनए आइसीसी प्रवासी नेपालीहरुको साझा संस्था बन्न सकेको छैन । नेपाली मुलका रसियन ब्यापारीहरुको चंगुलमा र कम्युनिष्ट पार्टीको निर्देशनमा चलिरहेको मेरो बुझाई छ । यो सिन्डिकेटलाई तोडेर संस्थाको उद्देश्य, भावना र मर्म अनुरुप सबै प्रवासी नेपालीहरुको हित र नेपालको बिकासका लागि ठोस काम गर्नसक्ने बनाउनु पर्छ । एनआरएनए आइसीसीले आइसोलेट गरेर राखेका र कतिपय ठाउँमा पेलेर भित्तामा पुर्याइएका विश्वभर छरिएर रहेका प्रजातन्त्रबादीहरु सक्रिय र गोलबद्ध हुनु जरुरी छ । त्यसका लागि अमेरिका मात्र होइन विश्वभरका प्रजातन्त्रवादीहरुलाई सहयोग र समन्वय गर्न म सक्रिय रहने छु । प्रजातन्त्रवादीहरुको आवरणमा धोका दिने सूर्यमुखिहरु यसका लागि बाधक हुन् । पछि पछुताउनु भन्दा त्यस्तालाई समयमै चिनौं । बुद्धि सुवेदी जस्तै संस्थालाई गतिशिल र सबैको साझा बनाउन सक्ने सहि नेतृत्व विश्वभरका एनसीसीहरुमा चुनौं । (धनन्जय नरसिंह केसी नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष हुनुहुन्छ ।)