काठमाडौं रेजर्स नेपाल सुपर लिगको पहिलो च्याम्पियन

प्रकाशित मिति:

काठमाडौं रेजर्स नेपाल सुपर लिगको पहिलो च्याम्पियन बनेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–०ले पराजित गर्दै काठमाडौं नेपाल सुपर लिगको च्याम्पियन बनेको हो। काठमाडौंलाई जित दिलाउने क्रममा मेसुके ओलोमोउले निर्णायक गोल गरे । उनले पहिलो हाफको २१औं मिनेटमा विश्वास श्रेष्ठको पासमा गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णायक बन्यो ।

योसँगै मेसुके खेलको सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा एक ह्याट्रिकसहित ८ गोल गरेका छन्। काठमाडौंले धनगढीसँग लगातार दुई हराको पनि बदला लिन सफल भएको छ। यसअघि काठमाडौं धनगढीसँग लिग र प्लेअफमा पराजित भएको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझायो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।