तातोपानी नाका आइपुग्यो चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर

प्रकाशित मिति:

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट आइतबार नाकामा आइपुगेको हो ।

तातोपानी नाकास्थित भन्सार कार्यालय अधिकृत नारद गौतमका अनुसार अब तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने छ । त्यसपछि सामान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लगाइनेछ ।

पछिल्लो समय नेपालमा बढ्दो कोरोना महामारीविरुद्ध लड्नका लागि चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको थियो । बाँकी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन शनिवार साँझै नेपाल एयरलाइन्सको वाइडबडी जहाज बेइजिङ पुगिसकेको छ ।

यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको स्रोतको भनाई छ ।