भेन्टिलेटर अभावमा मृत्यु हुने क्रम बढ्याे

प्रकाशित मिति:

जनकपुरधाम-  प्रदेश- २ को जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आईसीयु र भेन्टिलेटर नभएको कारण मृत्यु हुने क्रम बढेको छ । आइतबार दिउँसो आईसीयु र भेन्टिलेटर उपलब्ध नहुँदा महोत्तरीको औरही नगरपालिका–८ टिमकियाका ५५ वर्षीय श्याम यादवको मृत्यु भयो ।

अस्पताल पुगेको घण्टौंसम्म पनि अस्पतालमा आईसीयु र भेन्टिलेटर नपाउँदा उपचार अभावमा छटपटिएर जसपाका स्थानीय नेतासमेत रहेका यादवको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । यादवलाई उपचारको क्रममा अवस्था गम्भीर भएको भन्दै चिकित्सकहरूले आईसीयु र भेन्टिलेटरको व्यवस्था गर्न भने पनि अस्पतालमा आईसीयु र भेन्टिलेटरको व्यवस्था हुन नसकेपछि मृत्यु भयो ।यसअघि पनि बैशाख ३० दिन भेन्टिलेटर अभावमा जनकपुरधाम उपमहानगरपालिका–१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको मृत्यु भएको थियो । अस्पताल पुगेको तीन घण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा उनको पनि उपचार अभावमा मृत्यु भएको थियो । यस्तै बैशाख २८ गते महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगा बस्ने ५३ वर्षीय कोरोना संक्रमित सुखचैन महतोको भेन्टिलेटर आभावमा मृत्यु भएको थियो ।

यता प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। प्रमोद यादवले भेन्टिलेटर उपचार अभावमा मृत्यु भएकोबारे केही थाहा नभएको बताए । सुरूमा भेन्टिलेटर अभाव भएको तर, अहिले ३ वटा चालु अवस्थामा र ३ वटा खाली नै रहेको उनको दाबी छ ।