लुम्बिनी प्रदेशका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा

प्रकाशित मिति:

काठमाडौं । लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतको इजलासमा परेको छ ।

सोमबार सो रिट न्यायाधीश नहकुल सुवेदीको बेन्चमा परेको हो ।

पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमतले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निस्कासन गरेको थियो । उनीहरु चारै जना हाल मन्त्री छन् ।

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको जनाउँदै पार्टीले निजहरुलाई पदबाट हटाएको थियो ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार सदस्यले मन्त्रीको शपथ लिएका थिए ।