एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिनाले खोलिन् तीन कार्यालय

प्रकाशित मिति:

लन्डन । एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीहरु यतिखेर सदस्यता विस्तारमा जुटिरहेका छन् । यसपटक व्यवस्थित कार्यालय खोलेरै अनलाइन सदस्यता बढाउने ‘ट्रेन्ड’ शुरु भएको छ । यसैक्रममा एनआरएनए यूके अध्यक्षकी प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले बेलायतका विभिन्न शहरमा ’डेडिकेटेड स्टाफ’ सहित तीनवटा अफिस नै खोलेर मेम्बरसीप ड्राइभलाई उच्च प्राथमिकता दिएकी छन् ।

नेपालीहरु उल्लेख्य रहेको र भोट बैंक ठानिने क्षेत्र अल्डरसटको एम्पायर हल र श्री लक्की ज्वेलरी एवं पिटरबरोस्थित न्यू रोडमा हेल्प डेस्कमार्फत सदस्यता विस्तारमा आफू केन्द्रित रहेको रोजिनाले बताइन् ।एनआरएनए यूके अध्यक्ष प्रत्यासीमा सशक्त र उच्च तहबाटै साथ समर्थन पाएकी रोजिनाले आफ्ना सम्पर्क कार्यालयबाट सदस्यता व्यवस्थापनसहित प्रचार प्रसार र अन्य कामहरु भइरहेको बताइन् । कुनै पनि संस्था सञ्चालन र यसको प्रभावकारिताका लागि सदस्य संख्या नै प्रमुख मेरुदण्ड मानिन्छ । यसपटक एमआइएस सिस्टमबाट सदस्यता लिनुपर्ने भएकाले हामी यसतर्फ बढी व्यस्त छौं’, उनले भनिन् ।विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे बेखबर भएकाले चुनौतिपूर्ण भएकोले यस सम्पर्क कार्यालयाबाट सदस्य बनाउन सहजीकरण गर्ने पनि उनले बताइन् ।

एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलोपटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । यसको समयसीमा आउंदो १० जुनसम्म छ ।रोजिनाले पछिल्लो समय बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेट गरि आफूलाई सहयोग गरिदिन आग्रह गरिरहेकी छन् । अग्रजहरुको प्रेरणाले आफूमा अझ हौसला बढेको पनि उनले बताइन् ।नेपालमा कोभिड महामारीले उत्पन्न स्वास्थ संकटका बेला बेलायतबाट सहयोग जुटाउन सक्रिय उनले बेलायतवासी सबैमा हातेमालो गर्न आग्रह गरेकी छन्।