खिमलाल देवकोटालाई मत दिन माओवादी केन्द्रको ह्वीप

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मत दिन ह्वीप जारी गरेको छ । सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले देवकोटालाई मत दिन संयुक्त रुपमा ह्वीप जारी गरेका हुन् ।

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा। खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, उपनिर्वाचनका अर्का उम्मेदवार रामबहादुर थापा बादललाई प्रतिगमनकारी तत्वको मतियार भएको आरोप लगाइएको छ। ‘रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानेर प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रिय सभा सदस्यबाट कारवाही गरेकोले उक्त स्थान खालि हुन गयो,’ विज्ञप्तिमा उल्लेख छ ।

बागमती प्रदेश अन्य अन्तर्गत राष्ट्रिय सभा सदस्य पदमा २०७४ सालमा माओवादी केन्द्रबाट बादल निर्वाचित भएका थिए। बादल एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो।