पोखरा महानगरले बनाउँदैछ १ सय बेडको कोभिड अस्पताल

प्रकाशित मिति:

डा- भगवान कोइरालाले दुई वर्षअघि सातै प्रदेशमा विशिष्टकृत बाल अस्पताल बनाउने घोषणा गरे।अस्पताल बनाउन जग्गा खोजिरहेका डा। कोइरालाले साविकको लेखनाथ नगरपालिका रहेको भवन रोजे। भवनसँगै रहेको ३७ रोपनी जमिनमा अस्पताल बनाउन २०७६ फागुन ११ गते सम्झौता गरे।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साक्षी राखेर डा। कोइराला र पोखरा महानगरका मेयर मानबहादुर जिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका मिलेर पोखरा महानगर बनेपछि उक्त भवन पोखरा-२७ को वडा कार्यालयमा सीमित भएको थियो।

वडा कार्यालयले भवन पूर्ण रुपमा प्रयोग गर्न सकेको थिएन। अस्पताल बनाउन डा। कोइराला र लेखनाथमा पर्ने वडा नं। २६, २७ र ३० का वडा अध्यक्षदेखि उद्योग वाणिज्य संघका पदाधिकारीले छलफल गरेका थिए। सोही भवन दिनेबारे उनीहरुले निर्णय गरेका थिएनन्।मेयर जिसी र डा। कोइरालाबीच सम्झौता भएपछि लेखनाथका वडा अध्यक्षहरुले सल्लाहबिना नै सम्झौता गरेको भन्दै असन्तुष्टि जनाए। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष रहेका डा। कोइरालाले अस्पतालको काम अघि बढाएनन्।‘मेयर साबले सल्लाह नै नगरी एकलौटी निर्णय गर्नुभयो, हामीले त्यसको विरोध जनाएका थियौं’, वडा नं। २७ का वडाध्यक्ष पूर्ण गुरुङले भने।डा। कोइरालालाई अस्पताल बनाउन दिएको जग्गा र भवनमा कुनै काम अघि नबढेपछि पोखरा महानगरले गत वर्ष सोही जग्गामा महानगरीय अस्पताल बनाउने निर्णय गर्‍यो। तर काम भने अघि बढेको थिएन।

महानगरको कार्यपालिका बैठक र नगरसभाबाट उक्त निर्णय भएको थियो। नगरपालिकाकै अर्को अस्पताल शिशुवा अस्पताल मातहत रहनेगरी लेखनाथ नगरपालिका भवनमा महानगरीय अस्पताल बनाउने निर्णय भएको वडाध्यक्ष गुरुङले बताए।‘आगामी वर्षदेखि अस्पताल चलाउन बजेट छुट्याउने योजनामा थियौं’, गुरुङले भने, ‘अस्पतालका लागि चाहिने अरु भवन बनाउन पनि योजना तय गर्दै थियौं ।’पोखरा महानगरले अहिले सोही भवनमा कोभिड–१९ का बिरामी राख्ने गरी अस्पताल बनाउन थालेको छ। उक्त भवनमा रहेको पोखरा–२७ को वडा कार्यालय तालचोकस्थित छुट्टै भवन भाडामा लिएर चलाउने निर्णय गरेको छ। भाडामा लिएको भवनमा अहिले ‘पार्टेशन’को काम अघि बढाउन लागेको वडाध्यक्ष गुरुङले बताए।नगरपालिकाको भवनलाई अस्पताल बनाउन महानगरले थालेको प्रयासलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ ले सघाएको छ। आइसोलेसनमा ५० बेड, सर्जिकल सामाग्री, ३ वटा भेन्टिलेटर, ६ वटा आइसियु बेड लगायत बनाउन सहयोग गरेको लायन्सका सिनियर लिडर मोहनबाबु खड्काले बताए।

उनका अनुसार उक्त कोभिड अस्पताल बनाउन लायन्स इन्टरनेशनलबाट १६ हजार डलर बराबरको सामग्री आउँदैछ। यस्तै, लायन्सले ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने तयारी गरेको उनले बताए।बेड राख्न र अरु सामाग्री काठमाडौंबाट मगाइसकेका छौं’, खड्काले भने, ‘बढीमा २ हप्ताभित्रै कोभिड अस्पताल संचालनमा आउँछ।’ महानगरसँग मिलेर लायन्सले बनाउन लागेको अस्पतालमा अक्सिजन पाइप लाइन जोड्ने र बेड बनाउने काम थालिसकेको उनले बताए।यता, पोखरा महानगरले अहिले कोभिड अस्पतालका रुपमा शुरु गरेर भविष्यमा पनि अस्पतालकै रुपमा विकास गर्ने जनाएको छ। उक्त भवनलाई अस्पताल बनाउन यसअघि भएको निर्णय अहिले कोरोना महामारीका बेला कार्यान्वयन गरिहाल्नुपर्ने अवस्था आएको महानगरका मेयर मानबहादुर जिसीले बताए।

जिसीले १ सय बेडको कोभिड अस्पताल बनाउन झण्डै २ करोड खर्च लाग्ने बताए। ‘हामीले विभिन्न संघ, संस्थासँग मिलेर कोभिड अस्पताल बनाउन लागेका छौं’, उनले भने, ‘त्यसका लागि महानगरले मात्रै २ करोड जति खर्च गर्छ।’ उनले पनि २ साताभित्रै बिरामी राख्नेगरी काम अघि बढाएको बताए।अहिले कोभिड अस्पताल भनिए पनि अबदेखि उक्त अस्पताललाई पोखरा महानगरीय अस्पतालका रुपमा निरन्तरता दिने उनले बताए। महानगर मातहत रहेको शिशुवा अस्पताल मातहत रहने गरी उक्त अस्पताल संचालन गरिने मेयर जिसीले जानकारी दिए।